क्याम्पस प्रमुखको राजीनामा मागसहित अनिश्चितकालीन तालाबन्दी

कात्तिक २९, बाजुरा –जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताएका छन् ।

आर्थिक अनियमितताको आरोपसहित नेविसङ्घले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसको मान्यता पाएको बाजुरा क्याम्पस राजनीति गर्ने अखडा बनेको र क्याम्पस प्रशासनले सामान खरिदमा आर्थिक अमियमितता गरेको आरोपसहित नेविसङ्घले तालाबन्दी गरेको छ ।

बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत नेविसङ्घले सातबुँदे मागसहित तालाबन्दी गरेको क्याम्पस एकाइ सचिव थापाले जानकारी दिनुभयो । बाजुरा क्याम्पसले आङ्गिक क्याम्पसको औपचारिक उद्घाटन कार्यक्रम राखेको अघिल्लो दिन नेविसङ्घले विरोधस्वरुप तालाबन्दी गरेको थियो ।

राजनीतिक आस्थाको प्रवद्र्धन गर्ने गरी क्याम्पस प्रशासनले उद्घाटन गरेकाले सर्वपक्षीय भेलाबाट मिति घोषणा नगरेको, छात्रवृत्ति वितरणमा समानता ल्याउनुपर्ने, क्याम्पसमा निर्माण भएका भवनको गुणस्तर छानबिन गरिनुपर्ने, लामो समयसम्म पनि क्याम्पसमा पठनपाठनमा संलग्न नहुने र बिदामा बस्ने प्राध्यापकको विषयमा आवश्यक छानबिन गरिनुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।

यस्तै तत्कालीन क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुलाराम जैसी र स्वतन्त्र विद्यार्थी युनियनका सभापति चेतनदीप ऐडीले क्याम्पसको भवन निर्माण कार्य आफूखुशी नेकपाका कार्यकर्तालाई दिएको विषयमा निपष्क्ष छानबिनको माग रहेको छ ।
रासस