महिला सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

कात्तिक २८, काठमाडौं – बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा माल्दिभ्सलाई हराएर नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको छ ।

नेपालले पहिलो स्वर्णपदक जित्दा माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो । झण्डै दुई वर्षपछि महत्वपूर्ण अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली महिला भलिबल टोलीले कुनै पनि ठूला प्रतियोगितामा जितेको यो नै पहिलो स्वर्ण हो ।

समूह चरणमा अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश सबैलाई हराएको नेपालले समूह चरणकै अन्तिम खेलमा पनि माल्दिभ्सलाई नै ३–० को सोझो सेटमा हराएको थियो ।

यसले पनि फाइनलमा नेपालको मनोबल उच्च रह्यो। राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल र माल्दिभ्स शीर्ष दुईमा पर्दै उपाधिका लागि भिडेका थिए ।