विद्यार्थी पढाउँदै नगर प्रमुख !

कात्तिक २७ ,काठमाडौ -जाजरकोट स्थित भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुटेका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफै विद्यार्थी पढाउँदै आएका छन । विद्यालय अनुगमण तथा निरीक्षणमा दैनिक जाने नगरप्रमुख घर्तीले विद्यालयको भौतिक संरचना मात्र हेर्दैनन, विद्यार्थीको सिकाइ उपलब्धि बुझ्न विद्यार्थी पढाउने काम समेत गदै आएका छन ।

नगर प्रमुख घर्तीले आफ्नो मुलुकको भविष्य बोक्ने आजका कर्णधार बालबालिकाको शिक्षा के कस्तो रहेछ भनी छड्के जाँच गर्दै सिकाइ उपलब्धिसमेत जाँच गर्न आफैले पढाउने गरेको बताएका छन। विज्ञान र गणितमा राम्रो ज्ञान भएका र अन्तर्राष्टियस्तरको खेलकूदमा छवि बनाएका उनले मावि तहको कक्षा फुर्सद हुने वित्तिकै पढाउने गरेको बताए।

शिक्षामा लगानी गरेर मात्र नहुने भन्दै घर्तीले भने, “निरन्तर खबरदारी, अनुगमण र शिक्षण सिकाइ क्रियाकलाप कस्तो छ भनि अध्ययन गर्नु पनि मुख्य कुरा हो ।” उनले प्रशिक्षण अनुसारको सुधार भएको छ कि छैन भनि विद्यालयमा दैनिक जाने गरेको बताए । शिक्षालाई प्राविधिसँग जोडेर परिणाममुखी बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, “हामीले विद्यालयको समस्या विद्यार्थीको मुखबाट सुन्ने हो, कहाँ के समस्या छ भन्ने कुरा, अनि पो सुधार गर्न सजिलो हुन्छ, को शिक्षक कति दिन विद्यालय आउनुभयो, को आउनुभएन र कति पढाइ भयो किताब नहेरी कहाँ थाहा हुन्छ ।” कक्षामा नगरप्रमुख जान थालेपछि शिक्षक पनि आफ्नो शिक्षणकार्य सुधार गर्नुपर्ने भन्दै सक्रिय भएका विद्यार्थीले बताएका छन् । आजभोलि विद्यालयमा शिक्षकले निरन्तर पढाउनुका साथै विद्यार्थीसँग छलफलसमेत बढी नै गर्दैआएका सरस्वतीमावि काफलचौरका विद्यार्थी रोशन पुनले बताए । यो समाचार राससवाट लिइएको हो ।