लेखकको संयोजकत्वमा कांग्रेसको उपनिर्वाचन अनुगमन गर्न समिति गठन

 

कात्तिक २४, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ६ सदस्यीय अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ । केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टीको विधान बमोजिम “अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६” को गठन गरेको हो ।

अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६ को संयोजकमा केन्द्रीय सदस्य रमेश लेखक रहेका छन् । सदस्यहरुमा केन्द्रीय सदस्य सीता गुरुङ्ग, नेपाल प्रेस यूनियन वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सिताराम के.सी., अधिवक्ता तेज रावल रहेका छन् । साथै सदस्य सचिवमा अधिवक्ता केशव रिजाल छन् ।

समितिले उपनिर्वाचनमा पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीका पक्षमा प्रचार प्रसार गर्न, बढी भन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रुपले मतदान कार्य सम्पन्न गर्न र मतगणना लगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्नेछ ।