सरकारको निर्णय स्वाभाविक रहेको निवर्तमान प्रदेश प्रमुख झाको भनाई

कात्तिक २०, काठमाडौं – प्रदेश नं ५ का निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय स्वाभाविक भएको बताएका छन् ।

प्रदेश प्रमुख कार्यालयमा आज आयोजित बिदाइ कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख झाले आफू निजामती कर्मचारीबाट आएकाले पनि यस्तो प्रक्रियामा अभ्यस्त रहेको बताएका छन् ।

उनले प्रदेश सरकारको स्थापनासँगै संविधान र सङ्घीयता कार्यान्वयनमा आफूले गरेका काम सबैका सामु छर्लङ्ग रहेको उल्लेख गर्दै ती कामलाई उजागर गर्न सञ्चार माध्यमलाई आग्रहसमेत गरेका छन् ।

विसं २०३५ मा इञ्जिनीयरको रूपमा निजामती कर्मचारी सेवामा प्रवेश गरेका झालाई नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारले २०७४ साल माघ ३ गते प्रदेश ५ को पहिलो प्रदेश प्रमुखको रूपमा नियुक्ति गरेको थियो ।