एमसिसीलाई हरायो नेपालले

कात्तिक १८, काठमाडौं – इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्धको एकदिवसीय खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । एमसिसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७.३ ओभरमा ५ विकेट जाँदा पूरा गरेको हो ।

नेपालको जितमा बिनोद भण्डारीले अविजित ५२ रन बनाए। ६४ बल खेलेका उनले ३ चौका र २ छक्का हाने। यस्तै पवन सर्राफले २५ बलमा अविजित ३८ रन बनाए। ओपनिङमा आएका इशान पाण्डेले ३ बलमा ४ रन साथै कप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा १० रन बनाए ।

यस्तै शरद भेषावकरले ४९ बलमा २४ रन, दिपेन्द्र सिंह ऐरीले ३९ बलमा २३ रन र आरिफ शेखले ३० बलमा २३ रन बनाए। एमसिसीका यासिर अराफतले ३ साथै एलेक्स थोम्सनले २ विकेट लिए ।

यसअघि त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको एमसिसीले ३९ ओभरमा सबै विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो। एमसिसीका विल रोड्सले ५४ रन बनाएका थिए। यस्तै बिली गोल्डम्यानले ५२, विल भ्यानडरस्परले ३६, टम वेट्स्लीले १० रन र एलेक्स थोम्पसनले ११ रन बनाए ।

नेपालका पवन सर्राफले ४, ललित राजबंशीले ४ साथै अभिनास बोहरा र करण केसीले १–१ विकेट लिएका थिए । पारस खड्काको राजीनामा पछि कप्तान बनाइएका ज्ञानेन्द्र मल्लको कप्तान बनेपछि यो पहिलो खेल हो ।