आलमलाई ८ दिन म्याद थप

कात्तिक ८, काठमाडौं – जिल्ला अदालत रौतहटले नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई थप ८ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

न्यायाधीश केशव पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसकिएपछि अदालतले थप ८ दिनको म्याद थप गरेको हो । अनुसन्धान लम्बिँदै गएपछि आलमविरुद्ध तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न लागिएको हो ।

अब आलमलाई तिहारपछि मात्रै अदालतमा पेश गरिने भएको छ । आलम गत असोज २५ गते राजपुर गौरको शेख इन्द्रिस गेटबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै प्रहरीले अदालतमा पेश गरेर ७ दिनको म्याद थपि अनुसन्धान सुरु गरेको थियो ।

आलम रौतहटको राजपुरमा बम विस्फोटपछि घाइतेहरुलाई इट्टाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका हुन् ।

यसैबीच घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शुक्रबार नेपाली कांग्रेसले रौतहटमा मौन जुलुस निकालेको छ । गौरको बीपीचोकदेखि नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म पुगेर समापन गरिएको थियो ।