९ राउन्ड गोली हानी पौडेलको हत्या गरिएको आयोगको निष्कर्ष

कात्तिक ५, काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले पक्राउ गरेर ९ राउन्ड गोली हानी हत्या गरेको निष्कर्ष निकालेको छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । आयोगको अनुसन्धानबाट पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको पुष्टि हुन नसकेको देखिएको विज्ञप्तिमा उल्लेख छ। सोमबार बसेको आयोगको बैठक सो निष्कर्षमा पुगेको हो।

प्रहरीबाट यस घटनाको निष्पक्ष अनुसन्धान नभएको, घटनास्थल तथा लास जाँच मुचुल्का गर्दा मेडिको लिगललाई ध्यान नदिएको आयोगले जनाएको छ।  आयोगले घटनामा प्रत्यक्ष रुपमा संलग्न प्रहरी निरीक्षक कृष्णदेव साह, हवल्दारद्धय विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी अभियोग लगाई कारबाही गर्ने निर्देशन दिएको छ।

त्यस्तै प्रहरी निरीक्षक किरण प्रसाद न्यौपाने र नायव निरीक्षक सूर्यकुमार कार्कीलाई समेत सचेत गराउन आयोगको निर्देशन छ । त्यस्तै मृतकका परिवारलाई क्षतिपूर्ति बापत ३ लाख रुपैयाँ उपलब्ध गराउन भनिएको छ।