मन्त्रिमण्डल पुनःगठनमा प्रधानमन्त्रीको क्षेत्राधिकार रहने उपप्रधानमन्त्री पोखरेलको भनाई

असोज ३०, काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीले आवश्यक ठानेमा मन्त्री हेरफेर हुन सक्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैँ, तिहार लगायत पर्वका अवसरमा बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा उनले पार्टीका नेताहरुसँग आवश्यक परामर्श गरेर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनःगठन गर्नसक्ने जानकारी दिएका छन् ।

उनले यो क्षेत्र प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय रहेको बताए । दलबीच राजनीतिक विषयमा मतान्तर भए पनि देशको समृद्धि, संस्कृति र आपसी सद्भावका सवालमा साझा बिन्दु पहिल्याएर अघि बढ्न चाडपर्व र चियापानले सकारात्मक सन्देश दिएको समेत उल्लेख गरे ।