चीनसँग मित्रताको मूल्य नै सर्वाधिक हुन्छ –प्रधानमन्त्री ओली

असोज १७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभ –हानीको हिसाबकिताब नहुने बताएका छन्।

प्रधानमन्त्री निवासमा बिहीबार अपराह्न संचारमाध्यमका सम्बाददातासंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार(सरकार र जनता(जनता बीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट गरे।
प्रधानमन्त्रीले चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिँदै दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वाभाविक वृद्धि हुने विश्वास व्यक्त गरे। ’महामहिम राष्ट्रपति सी चिन पिङको नेपाल भ्रमण सफल हुन्छ,’ उनले भने। चिनियाँ राष्ट्रपति सीले निकट भविष्यमा नै नेपालको औपचारिक भ्रमण गर्ने तयारी छ।

भारतीय स्वतन्त्रता सङ्ग्राममा सुवासचन्द्र बोसको क्रान्तिकारी विचार र महात्मा गान्धीको शान्तिपूर्ण धार दुवै ठीक रहेको प्रसङ्ग उल्लेख गर्दैै उनले सबैका विचार अध्ययन गरेर नेपालको परिस्थिति, आवश्यकता एवं परिवेशअनुसार लागु गरिने स्पष्ट पारे।