सार्कलाई गतिशील तुल्याउनुपर्नेमा नेपालको जोड

असोज १०, काठमाडौं —नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न न्युयोर्कमा भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा राखेको हो ।

सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो । उन्नाइसौँ सार्क शिखर सम्मेलन हुन नसक्दा क्षेत्रीय सहयोगको भावनामा रुकावट आएको तथा केही मन्त्रिस्तरीय बैठक, कार्यशाला र तालीमबाहेक उल्लेख्य गति सार्कले लिन नसकेको नेपालले बैठकमा प्रस्तुत गरेको छ ।

बैठकका अध्यक्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्भावना र अवसरले परिपूर्ण दक्षिण एशियाको सामाजिक–आर्थिक भूदृश्य रुपान्तरणका लागि क्षेत्रीयस्तरमा प्रभावकारी सहयोग अपरिहार्य भएको बताए । उनले गरिबी, असमानता, अल्पविकास, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिजस्ता अनेकौँ चुनौतीले गाँजेको यथार्थ सुनाउँदै तिनको प्रभावकारी सम्बोधनका निम्ति सुदृढ सहयोग अत्यावश्यक भएको बताए ।

सार्कको १४ औँ महासचिवको नियुक्ति तथा आगामी फागुन १८ गतेदेखि नयाँ महासचिवको पदबहालीबारे पनि बैठकमा छलफल भएको छ । बैठकले श्रीलङ्काली महासचिवलाई अनुमोदन पनि गरेको छ । बैठकमा श्रीलङ्का र बङ्गलादेशबाहेक सबै सदस्य देशका परराष्ट्रमन्त्री सहभागी थिए । बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्री भने बैठकमा एकसाथ सहभागी भएनन् ।

यसैबीच सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै पाकिस्तानका विदेशमन्त्री साह मोहम्मद कुरेसीले १९औँ सार्क शिखर सम्मेलन जुनसुकै समयमा आयोजना गर्न आफ्नो देश तयार रहेको बताए । उनले सबै सदस्य देशलाई मान्य र उपयुक्त हुने समयमा कूटनीतिक माध्यमबाट सम्मेलनको मिति प्रस्ताव गरिने बताए । त्यसैगरी मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह साहिदले सार्कलाई गति दिनुपर्नेमा जोड दिए ।

यस्तै मन्त्री ज्ञवालीले सार्कप्रति सबै सदस्य देशको सकारात्मक धारणा रहेको, सबैले समुन्नत र एकताबद्ध दक्षिण एशियाका पक्षमा अभिमत जाहेर गरेका जानकारी दिए ।