लिभरपुलको जितमा मिल्नर र होइभरको गोल

असोज ९,काठमाडौं—इंग्लिस काराबाओ कपअन्तर्गत लिभरपुलले सहज जित निकालेको छ । बुधबार राति भएको तेस्रो चरणका खेअन्तर्गत लिभरपुलले एमके डन्समाथि २–० गोलको जित निकालेको हो ।

डन्सकै घरेलु मैदानमा भएको उक्त खेलमा लिभरपुललाई जित दिलाउन जेम्स मिल्नर र कि–जना होइभरले समान एक–एक गोल गरे । मिल्नरले खेलको ४१औं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । यस्तै होइभरले खेलको ६९औं मिनेटमा गोल गर्दै भिलरपुललाई २–० गोलको जित दिलाए ।

यस्तै बुधबार रातिकै अर्को खेलमा वेस्टह्याममाथि अक्सफोर्ड युनाइटेडले ४–० गोलको जित निकाल्दा एस्टोन भिल्लाले ब्राइटनलाई ३–१ गोलले हराएको छ । यसैगरी वुल्भसले रिडिङमाथि पेनाल्टी सुटआउटमा ४–२ गोलको जित निकालेको छ भने पेनाल्टी सुट आउटमै म्यानचेष्टर युनाइटेडले रोचडेललाई हराएको छ । युनाइटेडले पेनाल्टीमा ५–३ गोलले रोचडेललाई हराएको हो ।