विश्वमा पहिलो सर्वाधिक कमाइ गर्ने अभिनेता बने ‘रक’, चौथोमा अक्षय

असोज ८,काठमाडौं—एक वर्षमा संसारभरिका सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूची ‘फोब्र्स’ नामक बिजनेस म्यागजिनले सार्वजनिक गरेको छ । बलिउडका चर्चित अभिनेता अक्षय कुमार सर्वाधिक कमाइ गर्ने अभिनेताहरूको सूचीको चौथो नम्बरमा परेका छन् ।

विश्व चर्चित पत्रिका फोब्र्सका अनुसार हालै सार्वजनिक भएको उक्त सूचीमा भारतबाट बलिउडका चर्चित खेलाडी अभिनेता अक्षय कुमार मात्र पर्न सफल भएका छन् । अक्षयले गत वर्ष ६.५ करोड डलर अर्थात् करिब ४४४ करोड रुपैयाँ कमाएका छन् ।

हलिउड स्टार ड्वेन जोन्सन ‘रक’ यस सूचिको पहिलो नम्बरमा छन् । उनले सन् २०१८ को जुन १ देखि सन् २०१९ को जुन १ सम्मको कमाईलाई हेरिएको छ । उनको कमाइ ८.९४ करोड डलर रहेको छ ।

यसैगरी सूचिको दोश्रो नम्बरमा क्रमशः ७.६४ करोड डलरसहित क्रिस हेम्सवर्थ तथा तेस्रो नम्बरमा ६.६ करोड डलरसहित रोबर्ड डाउनी रहेका छन् ।

गत वर्ष धेरै कमाउने सेलिब्रेटीको सूचीमा बलिउडबाट सलमान खान, अमिताभ बच्चन, शाहरुख खान र अक्षय कुमार परेका थिए भने यस पाली अक्षय मात्र उक्त सूचीमा अटेका छन्् ।

संसारभरिको सेलिब्रिटीमध्ये एक वर्षमा सबैभन्दा धेरै आम्दानी गर्ने सेलिब्रेटीको सूचीमा अक्षय चौथो नम्बरमा पर्न सफल हुँदै अक्षयले हलिउडका समेत थुप्रै सुपरस्टारलाई पछि पारेका छन् । अक्षय कुमार अहिलेको समयमा बलिउडका सबैभन्दा व्यस्त अभिनेता मध्येका एक हुन् । केही वर्षदेखि देशभक्ति तथा संदेशमुलक फिल्महरू धेरै गरिरहेका हुनाले उनको करिअरले निकै उचाई हासिल गर्न सफल भएको छ । अक्षय अहिले सूर्यवंशी, हाउसफूल ४, लक्ष्मी बम्ब र गुड न्यूजमा निकै ब्यस्त रहेका छन् ।