नाकामा भारु साट्न दुःख नदिन समितिको निर्देशन

असोज ७, काठमाडौं — । दसैं, तिहार, छठ लगायतका पर्वमा नेपालीहरू भारु लिएर फर्किने गरेका छन् । यो वर्ष भारतमा मजदुरी गरी भारतीय रुपैयाँ नेपाल लिएर आउने नेपालीलाई अब सटहीमा कुनै समस्या नपर्ने भएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारु साट्न पर्न सक्ने समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले गृह मन्त्रालयलाई सम्बन्धित अर्थ मन्त्रालयसँग समन्वय गरेर सक्दो छिटो समस्याको समाधान निकाल्न भनेको हो ।

समितिको बैठकमा गृहसचिव प्रेमकुमार राईले चाडपर्वमा भारतीय नोटको नेपालमा प्रयोग गर्न समस्या हुनेबारे जानकारी दिएका थिए । यस विषयमा अर्थ मन्त्रालयसँग पटकपटक धारणा मागे पनि कुनै जवाफ नआएको उनले बताए । समितिलाई समस्या समाधानका लागि पहल गरिदिन उनको आग्रह छ ।

अर्थ मन्त्रालयको दोधारे नीतिबाट जनताले दुःख पाउने कामलाई तत्काल रोक्नुपर्ने समितिकी सभापति शशी श्रेष्ठले बताइन् । कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले पनि भारतीय नोट सटहीलाई लिएर नेपाली जनताले दुःख पाउन नहुनेमा जोड दिए ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले नोट सटहीका विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर समस्या समाधान गर्न पहल गर्ने समितिलाई आश्वासन दिए । जनतामा पर्न सक्ने समस्यालाई दृष्टिगत गरी सीमाक्षेत्रमा बैंक र सुरक्षाको व्यवस्था मिलाउनुपर्ने नेकपाका सांसद महेश्वरजंग गहतराजले बताए ।