पार्टी एकतापछि नेकपामा बैचारिक स्खलन आएकोमा प्रचण्डको चिन्ता

असोज ६, काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि नेकपामा बैचारिक स्खलन आएको चिन्ता व्यक्त गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा सहाना प्रधानको पाँचौ स्मृति दिवसको अवसरका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता अगाडिदेखि नै आफूहरुमा बैचारिक स्खलन आएको र कम्युनिस्ट आर्दशबाट विचलित हुँदै गएको बताएका हुन् ।

उनले विचार, राजनीतिसँगै संगठनात्मक र जीवनको आचरण के हुने भन्ने प्रष्ट गर्ने चुनौती रहेको पनि बताए । प्रचण्डले आदर्शबाट च्यूत भइरहेका त छैनौं भनेर पार्टीले समीक्षा गर्ने बेला आएको समेत बताए ।

‘जतिबेला हामी खुला र प्रतिस्पर्धामा प्रवेश गर्यौँ, शासन सत्तामा पुग्यौँ कता कता हामी आदर्श, विचार र निष्ठाबाट बिस्तारै थाहै नदिन स्खलित हुँदै जाने प्रक्रिया सुरु भयो । नाम त अहिले पनि हाम्रो कम्युनिस्ट पार्टी नै छ, के हामी साँच्चै कम्युनिस्ट जस्ता छौँ त ?’, प्रचण्डले प्रश्न गरे ।

कम्युनिस्ट भन्दाखेरी लामो समयदेखि गरिब, उत्पीडित, न्याय, समानता, स्वतन्त्रता र आत्मसम्मानको निम्ति लडेका भनेर सम्झिँदा जनताले भरोसा र भोट दिएको उल्लेख गर्दै प्रचण्डले व्यवहार र आचरण हेर्दा भने उस्तैउस्तै रहेको बताए ।

सहाना प्रधानलाई सम्झँदै अध्यक्ष प्रचण्डले उनी निरंकुशता र राणाशाही, तानशाहीका विरुद्ध अफ्ट्याराहरुका बावजुद पनि निरन्तर संघर्ष गर्ने महिलालाई सम्मान गर्नुपर्ने बताए ।