च्याम्पियन्स लिगमा आज हुने रोमाञ्चक ८ खेलहरू

असोज १— युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत आज ८ खेल हुँदैछन् । समूह चरणको पहिलो चरणको अन्तिम दिन आज १६ टोलीले एक–अर्का्विरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । त्यसपछिको दोस्रो चरणअन्तर्गतका खेलहरू २ साताको विश्रामपछि हुनेछन् ।

आजका खेलमा साबिकको उपविजेता टोली टोटनह्याम हटस्परका साथै युभेन्टस, रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पीएसजी), एथ्लेटिको मड्रिड, बायर्न म्युनिख र म्यानचेष्टर सिटी जस्ता क्लबहरू पनि प्रतिस्पर्धामा छन् । आजको पहिलो खेलमा समूह ‘ए’ अन्तर्गत बेल्जियन क्लब, क्लब बर्गले टर्किस क्लब गालातासरेसँग खेल्दैछ । क्लब बर्गकै घरेलु मैदानमा हुने उक्त खेल राति १०ः४० बजेबाट सुरु हुनेछ ।

यस्तै समूह ‘बी’का टोटनह्याम र ओलम्पियाकसले पनि सोही समयमा हुने अर्को खेल खेल्नेछन् । इंग्लिस क्लब टोटनह्यामले ग्रिक फुटबल क्लबको घरेलु मैदानमा आतिथ्ता प्रदान गर्नेछ । यस्तै तेस्रो खेलमा समूह ‘डी’का बायर र लोकोमाटिभले खेल्नेछन् । बायरको मैदानमा हुने सो खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

आजको चौथो खेल भने रोमाञ्चक हुने अपेक्षा गरिएको छ । राति १२ः४५ बजेबाट हुने उक्त खेलमा फ्रेन्च लिग वान च्याम्पियन क्लब पीएसजी र ला लिगा क्लब रियल मड्रिडले खेल्नेछन् । समूह ‘ए’को यी दुई टोलीबीचको यो खेल पीएसजीको घरेलु मैदानमा हुनेछ ।

यता, पाँचौं खेलमा जर्मन बुन्डेसलिगा च्याम्पियन क्लब बायर्न म्युनिखले क्रेभेना जभेदासँग खेल्नेछ । राति १२ः४५ बजेबाट नै सुरु हुने उक्त खेल बायर्नको मैदानमा हुनेछ । यी दुई क्लब समूह ‘बी’का टोली हुन् ।

यस्तै आजको छैटौं खेल पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ । ला लिगा क्लब एथ्लेटिको मड्रिड र इटालियन सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टसबीच हुने यो खेल आजको आकर्षण बन्नेछ । एथ्लेटिको मड्रिड अघिल्लो सिजनको ला लिगाको उपविजेता पनि हो । समूह ‘डी’का यी दुई क्लबबीचको भिडन्त पनि राति १२ः४५ बजेबाट नै हुनेछ ।

आजको सातौं खेलमा प्रिमियर लिग विजेता म्यानचेष्टर सिटी र शक्तर डोनेस्कबीच हुनेछ । राति १२ः४५ बजेबा नै हुने यस खेल शक्तर डोनेस्ककै घरेलु मैदानमा हुनेछ । यी दुई क्लब समूह ‘सी’का टोली हुन् । आजको अन्तिम खेलमा डाइनामो जाग्रेब र अटलान्टाले खेल्नेछन् । सोही समयमा हुने सो खेल डाइनामोको मैदानमा हुनेछ ।
एजेन्सी