एएफसी यु–१६ च्याम्पियनसिपः कुवेतसँग भिड्दै नेपाल

भदौ ३०,काठमाडौं— एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपाली समयअनुसार राति १०ः४४ बजेबाट हुने उक्त खेलमा नेपालले बलियो टोली कुवेतसँग खेल्न लागेको हो ।

नेपाल र कुवेतबीचको खेल अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्रा्ष्ट्रिय रंगशालामा हुनेछ । जसमा, पहिलो खेलमा फराकिलो हार ब्यहोरेको नेपालले अंक जोड्ने लक्ष्य लिएर मैदान प्रवेश गर्नेछ । यसअघि पहिलो खेलमा नेपालले जोर्डनविरुद्ध ७–० गोलको जित निकालेको थियो ।

यता, कुवेत भने नेपालविरुद्ध उत्रँदा दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा श्रीलंकालाई २–० गोलले हराएको थियो । सन् २०२० मा आयोजना हुने एएफसी च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् ।

आजको खेलपछि नेपालले असोज ३ गते हुने तेस्रो खेलमा ताजकिस्तानसँग खेल्ने छ भने अन्तिम खेलमा असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।