थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौता हुने

भदौं २९, काठमाडौं — थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि असोज १ गते ठेक्का सम्झौता हुने भएको छ । सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या समाधान भएसँगै ठेक्का सम्झौता हुने तय भएको हो ।

थानकोट–नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले सुरुङमार्गसँग सम्बन्धित सबै छलफल टुङ्गिसकेको जानकारी दिँदै निर्माणका लागि जापानी कम्पनी हाज्मा–आन्दो (जेभी) सँग सम्झौता हुने बताए ।

बैङ्क ग्यारेन्टीसहितको प्रक्रिया सकेर जापानी कम्पनी आगामी साता नेपाल आउन लागेको छ ।

सम्झौतामा नेपालका तर्फबाट सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र निर्माण कम्पनीका प्रमुखले हस्ताक्षर गर्ने तय भएको जानकारी आयोजना प्रमुख खरेलले दिए ।

धादिङमा मुआब्जाको समस्या समाधान नहुँदा सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौतामा ढिलाइ भएको थियो ।

गोरखापत्रमा यो खबर छ ।