राजा फर्काउने विषयमा कांग्रेसमा छलफल भएको छैन— देउवा

भदौं २८, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा राजा फर्काउने विषयमा छलफल नै नभएको बताएका छन् ।

शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मूर्खता सिवाए केही नभएको स्पस्ट पारे ।

जनजागरण अभियानको सफलता देखेर अत्तालिएका कम्युनिस्टहरूले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गरेर आफ्नो चरित्र उदांगो पारेको उनको भनाइ थियो । सभापति देउवाले भ्रष्टाचारको पोल खुल्ने डरले अत्तालिएकै कारण कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको जिकिर गरे ।

उनले दोषीमाथि कारबाही नहुँदासम्म कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए । प्रहरीको पछिल्लो कार्यको प्रशंसा गर्दै सभापति देउवाले गृहमन्त्री रामबहादुर थापाका भाइलाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी डराउन नहुने बताए ।