मन्त्री अर्यालको निर्देशन– ‘माटोले जे खोज्छ, बजारले के खोज्छ, त्यै गर्नुस् !’

भदौ २८, काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी
अर्यालले माटोको विशेषता र बजारको आवश्यकताअनुसार सहकारीकर्मीहरू अगाडी
बढ्न निर्देशन दिएकी छिन् । काठमाडौंमा शनिवार आयोजित सहकारी संस्थाहरूको वार्षिक
साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
शुभप्रवाह बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभालाई
सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने
बताइन् । ‘संस्थाको सदस्यको हितलाई पहिलो प्राथमिकता राखेर सहकारीले
काम गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसपछि संस्थाको सन्देश प्रवाह गर्ने गरी काम गर्नुस् ।’
सहकारी अभियान कौशीमा भएकालाई पिंढिमा झार्ने नभएर पिंढिमा भएकालाई
कौशिमा उकाल्ने अभियान भएको भन्दै मन्त्री अर्यालले ३४५१२ सहकारीमध्ये
करिब आधा जति बचत तथा ऋण सहकारी संस्थाहरु रहेको बताइन् ।
त्यसकारण अब मन्त्रालयले मर्जरको अभियान सञ्चालन गरेको भन्दै बचत तथा
ऋण सम्बन्धी काम गर्ने संस्थाहरूले पनि अब काम गर्ने तरिका बदल्ने अवस्था
आएको उनको भनाइ थियो ।
पूँजि जति परिचालन भयो त्यति फाइदा हुने भन्दै मन्त्री अर्यालले संकलन भएको
रकम थुपारेर राख्‍ने मात्र नभएर त्यो पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न
निर्देशन दिइन् । ‘अब सबै सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगाउने कानुन
बनाउदैछौ । अबको कानुन आजको आवश्यकता पूरा गर्ने हो । सहकारीको हातखुट्टा
बाँधेर प्रगति हुदैन,’ मन्त्री अर्यालले भनिन्, ‘माटोले जे खोज्छ बजारले के खोज्छ
त्यै गर्नुस् । भएको पैसा उत्पादनमूलक कार्यमा लगाउनुस र बढी भन्दा बढी
युवालाई रोजगारी दिनुस ।’
अबको पुरानो कानुनले आजको सहकारीको आवश्यकता पूरा नगर्ने भन्दै मन्त्री
अर्यालले सहकारी ऐन २०७४ ले समेट्न नसकेका कुरा समेट्नका निम्ती ऐन
संशोधन गरेर हामी अगाडि बढ्ने बताइन् ।
मन्त्री अर्यालले महिलाहरुलाई आत्मनिर्भर बन्न आग्रह गरिन् । महिलाहरू आत्मनिर्भर बन्दा कसैले पनि हेप्न नसक्ने भन्दै
उनले सीप सिकेर उद्यमी बन्न मन्त्री अर्यालले आग्रह गरिन् ।