काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ

भदौं २८, काठमाडौं — नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत विहिबार बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी सभापति कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो ।

आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ । नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उहाँको उपचार गरिएको थियो । सो अस्पतालका चिकित्सक डा विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ ।