‘गोल्डेन फूट’ मनोनयन सार्वजनिक, रोनाल्डो प्रमुख दाबेदार

भदौं २७—खेलाडीको व्यक्तिगत एवम् टिम र खेलाडीको सफलताको आधारमा प्रदान गरिने ‘गोल्डेन फूट’ अवार्ड २०१९ को मनोनयन सार्वजनिक भएको छ । अन्तिम १० खेलाडीको सूची हालै सार्वजनिक भएको हो ।

यो अवार्ड खेलाडीको व्यक्तिगत सफलता, टिमको सफलता तथा खेलाडीको व्यक्तित्त्वको आधारमा दिइन्छ । अन्तर्रा्ष्ट्रिय प्रतिष्ठित अवार्डमध्ये एक यो अवार्ड २८ वर्ष वा सोभन्दा बढी उमेरका खेलाडीलाई मात्रै प्रदान गरिन्छ । र, अगाडि यो अवार्ड पाएका खेलाडीले पुनः पाउँदैनन् ।

सन् २००३ देखि प्रदान गरिँदै आएको यस अवार्ड हालसम्म १६ जना खेलाडीले पाइसकेका छन् । विगतमा पाएका १६ जनाले यो अवार्ड पाउँदैनन् । अब विगतमा यो अवार्ड नजितेका १० खेलाडीलाई मनोनयनमा राखी १० जनाको सूची सार्वजनिक भएको हो । अघिल्लो दिन सार्वजनिक भएको उक्त सूचीमा स्टार खेलाडीहरू समावेश छन् ।

स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका साथै रियलका कप्तान सर्जियो रामोस, रियलकै लुका मोड्रिक, बार्सिलोनाका जेरार्ड पिके, युभेन्टसका जर्जियो चिलिनी जस्ता खेलाडीहरुले पनि यस सूचीमा स्थान बनाएका छन् । तर, यसपटक यो अवार्डको प्रमुख दाबेदार पोर्चुगलका स्टार रोनाल्डो रहेको अन्तर्रा्ष्ट्रिय मिडियाहरूले जनाएका छन् । उनले अघिल्लो सिजन मात्र इटाली गएर २ उपाधि जितेका छन् भने आफ्नो राष्ट्रका लागि एक अन्तर्रा्ष्ट्रिय उपाधि पनि जिताएका छन् ।

सन् २०१८ मा रियल मड्रिडबाट इटाली गएका ३४ वर्षीय रोनाल्डोले सिरी ‘ए’ र इटालियन सुपर कोपा जितेका थिए । यस्तै उनले पोर्चुगललाई यूईएफए नेशन्स लिगको उपाधि पनि जिताएका थिए । यस्तै उनको व्यक्तिगत तथ्यांक पनि राम्रो भएका कारण उनलाई प्रमुख दाबेदारको रूपमा लिइएको हो । यसअघि पनि युभेन्टसकै खेलाडीले सबैभन्दा धैरै पटक यो अवार्ड जितेका छन् । युभेन्टसका खेलाडीले ३ पटक यो अवार्ड जित्दा पीएसजी र मिलानका खेलाडीले समान २–२ पटक यो अवार्ड जितेका छन् ।

यस्तो छ टप १० सूचीः
लियोनल मेस्सी मेस्सी– बार्सिलोना
क्रिस्टियानो रोनाल्डो–युभेन्टस
सर्जियो रामोस– रियल मड्रिड
लुका मोड्रिक– रियल मड्रिड
जेरार्ड पिके– बार्सिलोना
रोबर्ट लेवान्डोस्की– बायर्न म्युनिख
वायने रुनी– एमएलएस डीसी युनाइटेड
थियागो सिल्भा–पीएसजी
जर्जियो चिलिनी–युभेन्टस
सर्जियो अगुएरो–म्यानचेष्टर सिटी

एजेन्सी