सलमानको दबंग स्टाइलमा फर्स्टलुक मोसन पोस्टर सार्वजनिक

भदौं २७—बलिउड अभिनेता सलमान खानलाई ‘दबंग’ अवतारमा मन नपराउने उनका फ्यान सायदै होलान् । यस पटक उनी फेरी दर्शकले अत्यधिक मन पराएको उही दबंग अवतारमा दर्शक माझ आउँदै छन् ।

‘दबंग’ सिरिजको तेस्रो सिरिज ‘दबंग ३’को फर्स्टलुक मोसन पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रलाई प्रभु देवले निर्देशन गर्दै छन् भने आगामी २० डिसेम्बरमा प्रदर्शनमा आउनेछ ।

मोसन पोस्टरमा सलमानले दबंग स्टाइलमा ‘स्वागत तो करो हमारा’ भन्ने संवाद बोलेका छन् । सन् २०१० मा रिलिज भएको ‘दबंग’ सलमानको करिअरमा पहिलो सय करोड कमाउने चलचित्र थियो । यसै गरी २०१२ मा रिलिज भएको ‘दबंग २’ लगातार बक्स अफिसमा सय करोड कमाउने पाँचौँ सिनेमा बन्न सफल भयो ।

७ वर्ष पछि पुनःचुलबुल पाण्डेको भूमिकामा देखिन लागेका सलमानको यस चलचित्रलाई दर्शकको निकै प्रतीक्षा रहने छ । चलचित्रमा सलमानका साथमा सोनाक्षी सिन्हा, सुदीप संजीव, अरबाज खानलगायतका कलाकारको अभिनय रहने छ ।
एजेन्सी