नेकपाले आफ्नो जागरण अभियान बिथोलेको काँग्रेसको आरोप

भदौं २७, काठमाडौं — नेपाली काँग्रेसले बाँकेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले जागरण अभियान अन्तर्गतको कार्यक्रम बिथोल्दै आफ्नो नेता कार्यकर्तामाथि साङ्घातिक हमला गरेको दाबी गरेको छ । काँग्रेसले आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै जिम्मेवार राजनीतिक दलको रूपमा प्रस्तुत हुन आग्रहसमेत गरेको छ ।

नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बाँकेको प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेश सभा क्षेत्र नं २ को खजुरा गाउँपालिका वडा नं २ सीतापुरस्थित नेपाल रेडक्रसको हलमा नेकपाका १३, १४ जना कार्यकर्ताले साङ्घातिक हमला गर्दै कार्यक्रम बिथोलेका हुन् । काँग्रेसले आक्रमणमा परी बाँके जिल्लाका सभापति किरण कोइरालाको हात ‘फ्याक्चर’ भएको र केन्द्रीय प्रतिनिधि विद्यानाथ खनालसहित कम्ती १४ जना कार्यकर्तामाथि हमला भएको जनाएको छ ।