अपहरणको अभियोगमा ४ जना पक्राउ

भदौ, २६ कास्की- पोखरा महानगरपालिका– ६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा  महानगरपालिका–९ शान्तिवनबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका– १५ बस्ने ४२ वर्षीय गौतम थापा, सोही महानगरपालिका– २ अर्चलबोट बस्ने ३४ वर्षीय रोहीत सुनार, सोही महानगरपालिका– ८ बस्ने ५० वर्षीय बासुदेब पोखरेल र सोही महानगरपालिका– १० बस्ने ५४ वर्षीय प्रेमबहादुर थापा रहेका छन् । अपहरणमा प्रयोग गरिएका सवारी साधनसहित प्रहरीले पक्राउ गरेको हो ।

निर्माण व्यवसायीलाई सोही महानगरपालिका– ९ नयाँबजारबाट केही व्यक्तिहरुले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।