पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न सकेनन्ः नेता पौडेल

भदौ २५,काठमाडौं—नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले बीपीको मर्म बुझ्न नसकेको बताएका छन् ।

तनहुँमा बुधवार राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैे पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको उनको भनाई छ ।

‘बीपी जयन्तीमा देशैभर कार्यक्रम भयो तर कांग्रेस कार्यकर्ताले बीपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘बीपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।’ उनले बीपी जनताको शासनका पक्षमा रहे पनि कम्युनिस्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाए ।

बीपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । निमुखालाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उनले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा उनले बीपी कोइरालाले विक्रम संवत् २०३६ असोज ६ गते व्यास नगरपालिका–३ बीपी वनवाटिकामा उपस्थित भएर राखेको भनाइ अंकित बोर्डको अनावरण गरेका थिए ।