९२औं अस्कर अवार्डका लागि नेपालबाट ‘बुलबुल’ सिफारिस

भदौ २१,काठमाडौं —सन् २०२० मा घोषणा गरिने ९२ औं एकेडेमी अस्कर अवार्डका लागि नेपालबाट अन्तर्रा्ष्ट्रिय फिचर फिल्म विधामा चलचित्र ‘बुलबुल’ सिफारिस भएको छ ।
नेपालको अन्तर्रा्ष्ट्रिय फिचर फिल्म छनोट गर्ने समितिले सन् २०१९ को फेब्रुअरीमा प्रदर्शनमा आएको विनोद पौडेलको निर्देशन रहेको फिल्म ‘बुलबुल’लाई सिफारिस गरेको हो ।

उक्त समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगष्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो ।
अध्यक्ष विमल पौडेल, सचिव चिरञ्जीवी गुरागाईं तथा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली, सामिप्यराज तिमल्सेना सदस्यहरु रहेको समितिले ‘बुलबुल’लाई अस्करका लागि सिफारिस गरेको हो ।

गत वर्ष अस्करमा ‘पञ्चायत’ छनोट भएको थियो । बुलबुल’ले सन् २०२० फेब्रुअरी ९ तारिखमा अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुन गएको ९२ औं अस्कर अवार्डमा अन्तर्रा्ष्ट्रिय फिचर फिल्म विधामा अन्य देशका फिल्महरुसँग प्रतिस्पर्धा गर्ने छ । केही समय अगाडी मात्र ‘दी सार्क फिल्म फेस्टिभल २०१९’ मा‘बुलबुल’ ले अवार्ड जितेको थियो । बुलबुल सिफारिस भएको खबर थाहा पाउँदा आफु सरप्राइज भएको निर्देशक विनोदले बताएका छन् ।

फिल्म ‘बुलबुल’मा स्वस्तिमा खड्काले एक टेम्पो चालक महिलाको भूमिका निर्वाह गरेकी छिन् भने मुकुन भुषाल मुख्य भूमिकामा रहेका थिए । चलचित्रमा स्वस्तिमा र मुकुनका साथ वुद्दि तामाङ, उज्ज्ल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको कलाकारहरुको अभिनय रहेको छ ।