बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस, खोजबिनको काम शून्य

भदौ, १३ काठमाडौं– आज ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस । यस दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा यो दिवस हरेक वर्ष ३० अगस्टका दिन मनाउने गरिन्छ ।

सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट शुरु भएको यो दिवस मनाउने क्रम अहिले विश्वव्यापी बनिसकेको छ । दिवसको अवसरमा बेपक्ता पीडित समाजले आज दिउँसो दुई बजे काठमाडौंमा विशेष कार्यक्रम गर्दै छ ।

नेपालमा भने शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएकाहरुको अवस्था पत्ता लागेको छैन । जसले गर्दा बेपत्ता पारिएका व्यक्तिका आफन्त अझै पनि आफ्ना मान्छेहरु आउने आशामा पर्खिरहेका छन् । तर, यत्तिका वर्ष बिति सक्दा पनि आशा गरेर पर्खिएकाहरुले आफन्त नआउँदा पीडा थप बढेको छ ।

द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि छ । आयोग गठन भएको छ । तर आयोगले लामो असमयावधिमा आवश्यक पूर्वाधार तयार गरे पनि बेपत्ता व्यक्तिको छानबिन सुरु गर्न सकेको छैन । दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र विद्रोहीबाट ठूलो संख्यामा नागरिक बेपत्ता पारिएको छ ।

विक्रम संवत २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई जानकारी गराउने भनी गरिएको प्रतिबद्धता आज नौ वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन । दुई वर्षका लागि भनेर गठन गरिएको आयोगले छ महिना बितिसक्दा बेपत्ता पारिएका व्यक्तिको खोजी सुरु गरेको छैन ।

आन्तरिक काम सबै सकिएको र बेपत्ता पारिएका व्यक्ति खोजबिन सम्बन्धी नियमावली स्वीकृत भइनसकेकोले खोजबिनको काम शुरु गर्न नसकिएको वेपत्ता आयोगले जनाइसकेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका अनुसार राज्यबाट ८ सय ४२ र विद्रोहीबाट १ सय ५२ व्यक्ति बेपत्ता पारिएको तथ्याङ्क छ । तर बेपत्ता परिवार समाजको तथ्याङ्कमा भने राज्यद्वारा बेपत्ता पारिएका व्यक्तिको संख्या एक हजार ९५ छ ।