भुटानमाथिको फराकिलो जीतसँगै नेपाल फाइनल नजिक

भदौं १२,काठमाडौं — भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबलमा फराकिलो अन्तरले भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ ।

बिहिबार भएको अन्तिम खेलमा भुटानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो ।

भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपाललाई जित दिलाउन खेलको पाँचौँ मिनेटमा कप्तान प्रदीपले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको नवौँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए ।

त्यस्तै दोस्रो हाफमा नेपालले थप ३ गोल गर्यो ।खेलको ४८ औँ मिनेटमा प्रदीपले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाए । त्यसैगरी खेलको ७५औँ मिनेटमा असिमले गोल गरे भने खेलको ८५औँ मिनेटमा क्रिसले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुगमले एक गोल थप्दै नेपाललाई ६–० को सहज जित दिलाए । जितसँगै नेपालले ४ खेलबाट ९ अंक जोडेको छ ।

त्यस्तै राउन्ड रोविनको अन्तिम खेल भारत र बङ्गलादेशबीच आजै हुँदैछ । भारत र बङ्गलादेशबीचको खेलमा कम्तीमा ४ गोलको अन्तरमा विजयी भएको खण्डमा मात्र बङ्गलादेश फाइनलमा पुग्नेछ । अन्यथा, नेपालले फाइनलमा आफ्नो यात्रा सुनिश्चित गर्नेछ । भारत भने तीन खेल जितेर यसअघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

पहिलो खेलमा भारतसँग पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलङ्का, बङ्गलादेश र भूटानलाई पराजित गर्न सफल भयो ।
प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटानले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।