बस दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, २७ घाइते

भदौ ११,काठमाडौं– जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बस सुर्खेतको भेरीगंगा नगरपालिका –५ स्थित एमाले मोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटना हुँदा एक महिलाको घटनास्थलमैै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष रहेको प्रहरीले जनाएको छ ।

ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान साढे तीनदेखि चार बजेको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले जानकारी दिए ।

त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरु मध्ये केहीको कोहलपुर तथा स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतहरुको सनाखत नभइसकेको बताए । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनेसक्ने प्रहरीको अनुमान छ ।