रेलवे स्टेशनमा भेटिएकी रानू मोन्डल रातारात स्टार, गीत गाएवापत ७ लाख अफर

भदौं ११,काठमाडौं —  पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा भेटिएकी रानू मोन्डलको जादूमय स्वरले यतिबेला धेरैको ध्यान तानेको छ । लता मंगेशकरको स्वर रहेको ‘एक प्यारका नगमा हे’ गीत गाएर रातारात इन्टरनेट सेन्सेसन बनेकी रानूको जीवनले नयाँ मोड लिएको छ ।

जम्याटोको डेलिभरी ब्वाइले खिचेको भिडियोको कारण चर्चित बनेकी रानूको जीवन उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो भाइरल भयो र रानू स्टार बनिन् ।

रानूको सुरिलो स्वरको भिडियो इन्टरनेटमा भाइरल भएपछि संगीत निर्देशक हिमेश रेशमियाले उनलाइ एक सिंगिंग रियालिटी शोमा बोलाएर गीत गाउन लगाएका थिए । त्यही शोमा उनले आफ्नो फिल्ममा गीत गाउन लगाउने भनेर घोषणा पनि गरे ।

फलस्वरुप रानूले फिल्म ह्याप्पी हार्डी एण्ड हिरमा ‘तेरी मेरी कहानी’ बोलको गीत रेकर्ड गरेकी छिन् । उक्त गीतको एक भिडियो सोसल मिडियामा धेरैले हेरेका छन् ।

रिपोर्टका अनुसार रानूलाई गीत गाएवापत ६ देखि ७ लाख भारतीय रुपियाँ अफर गरिएको छ । सुरुमा पैसा नदिने बताइएको थियो तर अहिले हिमेश उनलाई पैसा दिने निर्णयमा पुगेका छन् ।

त्यस्तै, सोसल मिडियामा सलमान खानले रानूलाई ५५ लाखको घर दिएको भन्ने चर्चा पनि अत्यधिक छ । सहयोगी छविका लागि चर्चित सलमानले रानूलाई आफ्नो नयाँ फिल्म दबंग थ्री मा गीत गाउन लगाउने बताइएको छ । यद्यपि, यी खबरको अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन ।

रानू पश्चिम बंगलाको रानाघाटमा बस्छिन् र त्यहाँ स्टेशनमा फिल्मको गीत गाएर गुजारा गर्थिन् । रानूका थुप्रै भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।