कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

भदौं ११,काठमाडौं — नेपाल कांग्रेस केन्द्रीय समितिको आज बैठक बस्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् । सुसुप्त भएका नेविसंघलगायतका भ्रातृसंस्थालाई पुनर्जीवन दिने तयारी कांग्रेसको छ ।

कांग्रेसको नर्सरी भनिने नेविसंघ गत माघ महिनादेखि नेतृत्वविहीन छ । नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायत आकांक्षी छन् ।