फ्रान्सेली राष्ट्रपतिकी पत्नीमाथि टिप्पणी गरेपछि ब्राजिली राष्ट्रपतिको आलोचना

भदौ १०— फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंकी पत्नी ब्रिगिटमाथि ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले अभद्र टिप्पणी गरेपछि म्याक्रोंले जवाफ फर्काएका छन् ।

उनले बोल्सोनारोको कठोर बयानको निन्दा गर्दै महिलाको गरिमाविरुद्ध उनले टिप्प्णी गरेको बताएका थिए । एक सामाजिक सञ्जाल साइटमा ब्राजिलका राष्ट्रपतिले म्याक्रों र उनकी पत्नी ब्रिगिट म्याक्रोंबीचको उमेरको अन्तरको मजाक उडाएका थिए । म्याक्रों र उनकी पत्नीबीच २४ वर्षको फरक छ ।

बोल्सोनारो र म्याक्रोंबीच शाब्दिक आक्रमणका सिलसिला अमेजन जंगलमा लागेको डढेलोले शुरू गराएको हो । बियारिट्जमा जी७ सम्मेलनमा जलवायु परिवर्तनलाई म्याक्रोंले प्रमुख मुद्दा बनाएका थिए । उनले अमेजनका जंगलमा लागेको डढेलोप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई निभाउन आवश्यक सहायताको घोषणा गरेका थिए ।

म्याक्रोंको यो भनाइप्रति आपत्ति उठाउँदै बोल्सोनारोले म्याक्रोंकी पत्नीप्रति अभद्र टिप्पणी गरे ।

तर म्याक्रोंले नियन्त्रण नगुमाइकन ब्राजिलका राष्ट्रपतिलाई कडा चेतावनी भने दिए । म्याक्रोंले भने, ‘मेरी पत्नीमाथि उनले निकै कठोर टिप्पणी गरे । तर म के गर्न सक्छु र ? यसले मलाई निकै दुःखी बनायो । उनी आफैं र ब्राजिलका मानिसप्रति पनि यो दुःखको कुरा हो ।’

बोल्सोनारोका एक समर्थकले फ्रान्सकी प्रथम महिलाको मजाक उडाउँदै ६५ वर्षीया ब्रिगिट ब्राजिलका राष्ट्रपतिकी पत्नी मिशेल बोल्सनारोभन्दा २८ वर्ष ठूली भएको लेखे । अनि तिनै समर्थकले फेसबूकमा लेखे, ‘बुझ्नुभयो नि, म्याक्रोंले

बोल्सोनारोलाई किन यति सताइरहेका हुन् ?’ पोस्टसँगै अभद्र तस्वीर पनि राखिएको थियो । समर्थकको पोस्टमा जवाफ दिँदै बोल्सोनारोले लेखे, ‘त्यो मान्छेको मजाक नउडाऊ, हे हे हे ।’

ब्राजिलका राष्ट्रपतिको टिप्पणीले आहत भएका म्याक्रोंले भने, ‘ब्राजिलका महिला यो टिप्पणी पढेर लज्जान्वित भएको हुनुपर्छ । ब्राजिलका मानिस महान् छन् र उनीहरू यस टिप्पणीका कारण पानी पानी भएका होलान् । ब्राजिलसँग हाम्रो मित्रता छ, त्यसलाई मद्देनजर गर्दै ब्राजिलीहरूले सभ्य व्यवहार गर्न जान्ने राष्ट्रपति छान्नुपर्छ जस्तो लाग्छ ।’

एजेन्सी