मिस टिन २०१९ को उपाधि प्रतिभालाई

भदौ ८,काठमाडौं —यस वर्ष मिस टिन २०१९ को उपाधि थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा (रानी) राईले जितेकी छन् । अन्य ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल भएकी हुन् ।

रिबन इन्टरटेनमेन्टद्वारा आयोजित उक्त प्रतियोगिता काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिवार आयोजना गरिएको थियो ।प्रतिभाले मोष्ट भ्यूज र मिस ट्यालेण्टको समेत उपाधि पाएको आयोजकले बताएको छ ।

सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी प्रतिभा काठमाडौंको ग्रामर कलेज कोटेश्वरमा विज्ञान सङ्कायमा कक्षा १२ मा अध्ययनरत छिन् ।

प्रतिभाका बुबा रामसङ्घर्ष किराती थुलुङदूधकोशी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष हुन् भने आमा दुर्गालक्ष्मी राई शिक्षिका हुन् ।