व्यक्तिगत हितमा केन्द्रित भए सत्ता ढल्न सक्छ ः प्रचण्ड

भदौ ६,काठमाडौं—  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनहितभन्दा व्यक्तिगत हितमा केन्द्रित भए सत्ता ढल्न सक्ने खतरा रहेको बताएका छन् ।

ललितपुरमा शुक्रवार आयोजित प्रोग्रेसिभ इन्जिनीयरिङ एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

कम्युनिष्टहरू सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने र सत्तामा पुगेपछि त्यसलाई बिर्संदै जाने प्रवृत्ति देखिएको बताउदै अध्यक्ष प्रचण्डले भने, ’राष्ट्र र जनताको चाहाना के हो ? कार्यशैली के हुने हो भन्ने बिर्सेर विस्तारै–विस्तारै बुर्जुवा शैलीतर्फ जान थालेको प्रति चिन्ता लागेको छ ।’

सोभियत संघ लगायतमा कम्युनिस्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उनले बुर्जवाहरूले कम्युनिस्टहरूसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने गरेको बताए । कम्युनिष्ट नेताहरूको अनुशासनको स्तर गिरेकोप्रति उनको चिन्ता छ ।

उनले दुई पार्टी मिलेर बनेको ठूलो पार्टी्भित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टि जनाए। विगतमा जनताका समस्या बोध गर्ने , अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासनहिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी गरे ।