बाजुरामा पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामा

भदौ ६,काठमाडौं — बाजुरा जिल्लामा पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

जिल्लाको बडिमालिका नगरपालिकामा प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले सामूहिक रूपमा राजीनामा दिएको बिहीबार एक ध्यानाकर्षणपत्रमार्फत जानकारी गराएका हुन् ।

वडा नं २ का अध्यक्ष डम्मर महतले नगरप्रमुख पदम बडुवालले स्थानीय तहको निर्वाचनपछि देखि नै निर्णय एकलौटी गर्ने शैली नसच्चिएकाले राजीनामा पेश गरेको बताए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जितेका पाँच वडाध्यक्षले नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए ।

समिति गठनदेखि अरु निर्णय एकलौटीरूपमा गर्ने गरी फरक सङ्गठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य, धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजश्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामूहिक राजीनामा पेश गरेको बताएका छन् ।