राष्ट्रिय फुटबल पुरुष टिम आज मलेसिया जाँदै

भदौ ६,काठमाडौं —  नेपाली राष्ट्रिय पुरुष फुटबल टिम शुक्रबार मलेसिया प्रस्थान गर्दैछन् ।

मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबल खेल्नका लागी नेपाली टोली शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएको छ ।

मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग एक मैत्रीपूर्ण खेल खेल्न २३ सदस्सीय नेपाली टोली शुक्रबार राति १० बजे मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

समूह ’बी’ मा रहेको नेपालले जोहारसँग सोमबार उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिममा फरवार्ड विमल घर्ती मगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

नेपाली टिममा विकेश कुथु, एलन न्यौपाने,विशाल श्रेष्ठ गोलकिपरमा रहेका छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याललाई राखिएको छ ।

त्यस्तै मिडफिल्डरमा सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई र फरवार्डमा विमल घर्तिमगर सहित विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ खेल्दै छन् ।