प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेट

भदौं ४,काठमाडौं —  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन बुधबार दिउँसो काठमाडौं आइपुगेका विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका हुन् ।

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक बिहीबारसम्म चल्नेछ । आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नेछन्।

बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी लगायतको सहभागिता रहेको थियो ।

नेपाल बसाइको क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन् । राष्ट्रपति भण्डारीसँग बिहीबार बिहान साढे १० बजे भेटवार्ता तय भएको छ ।

विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्टमन्त्री प्रदीप ज्ञवालीले आजै बुधबार साँझ रात्रीभोजको आयोजना गरेका छन् ।