नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि सुरु

भदौं ४,काठमाडौं — नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार अपराह्नदेखि काठमाडौँमा सुरु हुँदैछ । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । यो बैठक दुई दिन चल्ने छ ।

त्यही बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरावलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौँ बैठक महत्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आयोग गठन भएको ३२ वर्षपछि हुन लागेको पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्वका साथ लिएका छन् ।
अपराह्न ३ बजे उद्घाटनसँगै विदेशमन्त्रीस्तरीय आयोगको बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाल आए लगत्तै बैठक आरम्भ हुनेछ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्दै आयोगको बैठक शुभारम्भ हुने मन्त्रालयले बताएको छ ।।