कर्मचारीको उमेर हद ६० वर्ष कायम हुने

भदौं ३,काठमाडौं —निजामती कर्मचारीको उमेर हद परिमार्जन भएको छ । हाल उमेर हद ५८ वर्ष रहेकोमा अब २०२१ सालपछि जन्मेका कर्मचारीको हकमा ६० वर्ष कायम गरिने भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको हो ।

विधेयकअनुसार २०१८ मा जन्ममिति भएका कर्मचारी ५८ वर्ष ६ महिना उमेर पुग्दा अवकाश पाउनेछन्। २०१९ सालमा जन्मेका कर्मचारी ५९ वर्षमा अनिवार्य अवकाश हुनेछन्। २०२० मा जन्मेका कर्मचारी ५९ वर्ष ६ महिनामा अवकाश हुने मस्यौदामा उल्लेख छ।

२०४९ कात्तिक २१ गतेअघि निजामती सेवामा बहाल भई उमेर हदका कारण अनिवार्य अवकाश हुने निजामती कर्मचारी सेवा अवधिमा निवृत्तभरण प्रयोजनका लागि ६० वर्ष ननाघ्ने गरी बढीमा दुई वर्ष अवधि थप गरिने व्यवस्था विधेयकमा छ।