रवि लामिछाने सहित ३ जनालाई पाँच दिन थुन्न अदालतको आदेश

साउन ३१, काठमाडौं — पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने सहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले रविसहित युवराज कडेँल र रुकु कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो । शुक्रबार उनीहरुलाई अदालतमा उपस्थित गराइएको थियो। बिहीबार राति जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो ।

पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताएका छन् । उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए।