जनैपूर्णिमामा केन्द्र सरकारले बिदा नदिएको भन्दै हिन्दु धर्मावलम्बीको आपत्ति

साउन ३०, काठमाडौं — हिन्दुहरूको धार्मिक तथा सांस्कृतिक पर्व श्रावण पूर्णिमा अर्थात् जनैपूर्णिमा बिहीबार (आज) देशभर मनाइँदैछ ।

२०४७ साल अघिसम्म सरकारले जनैपूर्णिमामा बिदा दिँदै आएको थियो । तर २०४७ को परिवर्तनपछि भने सरकारले कहिले सार्वजनिक बिदा दिने त कहिले बिदा नदिने गरेको छ ।

यसपटक पनि केन्द्र सरकारले बिदा दिएको छैन । प्रदेश १ , प्रदेश २ र सुदुरपश्चिम सरकारका साथै केहि जिल्लाका स्थानियतहहरुले जनैपूर्णिमाको सार्वजनिक बिदा दिएका छन् ।

केन्द्र सरकारले बिदा नदिएको भन्दै हिन्दु धर्मावलम्बीले आपत्ति जनाएका छन् । संस्कृतिविद् डा. गोविन्द टण्डनले सरकारले हिन्दु धर्मप्रति गलत नजर राखेको बताए । सरकारको यो नीतिले सरकारप्रति नै जनताको आक्रोश प्रकट हुने उनको भनाई छ । ‘हिन्दु धर्मप्रति सरकारको दृष्टिकोण गलत छ । यसले जनतालाई आक्रोशित बनाउँछ’, उनले भने, ‘बिदा दिएको भए एकअर्कामा सद्भाव बढाउने थियो ।’

यो दिन जनै फेरिन्छ । जनैमा ६ वटा शिखा हुन्छन् । जनै मन्त्रिनु पर्छ। यसका लागि बिहानै नदी र जलाशयमा गएर नुहाउने प्रचलन छ । देशभर तागाधारीले जनै पूर्णिमा मनाउने भए पनि गण्डकी प्रदेशमा तागाधारी जनै फेर्न ससुरालीमा जनै लिएर जाने प्रचलन छ ।