सहमति जुट्न नसक्दा नेकपा सचिवालय बैठक स्थगित

साउन २९, काठमाडौं — स्कुल विभागको नेतृत्वको विषयलाई लिएर विवाद हुँदा पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज दिउँसो ३ बजे बस्ने भनिएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि आज बैठक नबस्ने भएको हो ।स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन अध्यक्षद्वयबीचमा बिहीबार बालुवाटारमा छलफल भएको थियो ।

स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी कायम रहेपछि अध्यक्षद्वय सहमति जुटाउन छलफलमा जुटेका थिए । तर, पछिल्लो समय अध्यक्षद्वयबीचमै विवाद भएको छ  । स्रोतका अनुसार प्रधानमन्त्री ओली स्कुल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने अध्यक्ष प्रचण्ड श्रेष्ठको हकमा सहमति जुट्न नसके अध्यक्षकै मातहत राख्न चाहन्छन् ।