नेकपाको सचिवालय बैठक बुधबार बस्ने

साउन २८,काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक बधुबार बस्ने भएको छ ।

मंगलबार बस्ने भनिएको सचिवालयको बैठक आन्तरिक तयारी गर्नुपर्ने भन्दै ओलीले बुधबार सरेका हुन् । महासचिव विष्णु पौडेलले सचिवालय बैठकमा कार्य विभाजनको प्रस्ताव पेश गर्ने बताइएको छ ।

स्थायी समिति सदस्यहरूलाई विभाग प्रमुख तथा कतिपय ठूला जनसंगठनको इञ्चार्ज बनाउने तयारी भइरहेको छ । जुनियर केन्द्रीय सदस्यहरूलाई विभागको उपप्रमुख तथा जनसंगठनको सह–इञ्चार्जको जिम्मेवारी दिइने नेकपा स्रोतले जनाएको छ ।

किसान महासंघ, युवा संघ, अनेरास्ववियू, महिला संघ, मजदूर संगठन जस्ता ठूला जनसंगठनको इञ्चार्ज स्थायी कमिटी सदस्यबाट बनाउन अधिकांश नेताले महासचिव पौडेललाई सुझाव दिएका छन् ।

जनसंगठनका संयोजकहरू पार्टीका केन्द्रीय सदस्य तथा सचिवालय तहसम्मका नेताहरू रहेकाले इञ्चार्ज माथिल्लो तहबाट पठाउनुपर्ने बाध्यता छ । नेकपाको संगठन विभाग, स्कूल विभागलगायतमा स्थायी समिति सदस्यलाई उपप्रमुखसमेत बनाउने सम्भावना छ ।

स्कुल विभाग प्रमुखको दावी गर्ने नेताहरूको संख्या बढ्दै गएको छ । ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गरेको विभागमा झलनाथ खनाल, युवराज ज्ञवाली, घनश्याम भुसाल, बेदुराम भुसाल, देवेन्द्र पौडेल र राम कार्कीले पनि ईच्छा देखाएका छन् ।