यौन उत्पीडनको आरोप लागेको व्यक्तिसँग कदापि काम नगर्ने दीपिकाको निर्णय

साउन २६,काठमाडौं – बलिउडका निर्देशक लभ रञ्जनको फिल्ममा अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोणको यो जोडी एउटै स्क्रिन सेयर गर्ने खबरले उनीहरूका फ्यानहरूमाझ उत्सुकता बढाएको थियो । तर, केहि दिनपछि एकाएक फिल्ममा अभिनय गर्ने निर्णयमाथि दीपिकाका फ्यानहरूले असन्तुष्टि व्यक्त गर्न थालेका थिए ।
निर्देशक रञ्जनसँग दीपिकाले काम गर्न लागेको चर्चा भएपछि ट्विटरमा ह्यासट्याग नट माइ दीपिका ट्रेन्ड गर्न लागेको छ । प्रशंसकले उनलाई मिटू आरोपी लभ रञ्जनसँग काम नगर्न अपिल गरेका छन् । अब भने दीपिकाले मिटू आरोप लागेका लभ रञ्जनको चलचित्रमा काम नगर्ने भएकी छन् ।

हालै भोग म्यागजीनलाई दिएको एक अन्तर्वार्तामा दीपिकाले यौन उत्पीडनको आरोप लागेको व्यक्तिसँग कदापि काम गर्ने पक्षमा नरहेको बताएपछि दीपिकाका फ्यानहरुलाई यो भनाइले केही हदसम्म राहत दिलाएको छ । दीपिकाले आफू रञ्जनसँग काम नगर्ने कुरा सार्वजनिक नगरे पनि उक्त अन्तर्वार्ताको जवाफबाट उनको निर्णय बुझ्न सकिन्छ ।

‘प्यार का पञ्चनामा’ का निर्देशक लभ रञ्जनमाथि एक महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । लभ रञ्जनको निर्देशनमा बन्न लागेको एक एक्सन जनराको चलचित्रमा लामो समयदेखि रणवीर र अजय पहिले नै अनुबन्धित भइसकेका छन् । फिल्मको छायांकन यहि वर्षको अन्त्यबाट हुने पक्का भएको छ । साथै, निर्माण टिमले फिल्मलाई सन् २०२० को क्रिशमसमा प्रदर्शन गर्ने टार्गेट बनाएको छ ।