लुम्बिनी र गौतमबुद्ध विमानस्थलको काम डिसेम्बर महिनाभित्र पूरा हुने पर्यटनमन्त्री भट्टराईको दाबि

साउन २३, काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई छिटै सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्रा्ष्ट्रिय गौतमबुद्ध विमानस्थल बिहीबार निरीक्षण गर्ने क्रममा उनले यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताए ।साथै प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएको उनको भनाई छ ।

मन्त्री भट्टराईले भने–‘जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महिनामा ती सबै काम पूरा हुन्छ ।’ आगामी डिसेम्बर महिनाभित्रै अन्तर्रा्ष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने दाबि गरे ।
विमानस्थल निर्माणको काममा कुनैपनि बहानामा ढिलाइ हुन नहुनेमा उनको जोड थियो । स्थानीय तहले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्रीे उपलब्ध गराउनुपर्ने बताए ।

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष सुरु हुनुअगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताए । उनले पर्यटकको संख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढंगले काम अगाडि बढाउने बताए ।

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले नदीजन्य पदार्थ समयमा उपलब्ध नहुँदा पनि आयोजनालाई समस्या आएको बताए । उनले सरकारी निकायबीच समन्वयको आवश्यकता रहेकोमा जोड दिए । मन्त्री विमानस्थल अवलोकनपछि देवदह, बुटवल लगायतका विभिन्न कार्यक्रमा सहभागी भएका छन् ।