प्रदेशको नामाङ्कनमा सबैको भावना समेटन आदिवासी नेताहरुको सुझाव

साउन २३, काठमाडौं– प्रदेश १ को नामाकरण सबैको भावनाको सम्मान हुने गरी सहमतीय प्रणालीबाट गर्न झापाका आदिवासी नेताहरुले सरकारलाई सुझाव दिएका छन् ।

१ नं. प्रदेशबासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर यस क्षेत्रका आदिवासी जनजातिलगायत सबैको भावनाको सम्मान हुनेगरी प्रदेशको नामकरण गर्नुपर्ने उनीहरुको निष्कर्ष छ ।

बिहीबार बिर्तामोडमा भएको छलफलका सहभागी नेताहरुले किरात, कोच, लिम्बुवान, मोरङ्गीया पहिचान पक्षधरलाई एकै ठाउँमा राखेर संवाद मार्फत साझा एजेन्डा तयार गरी सहमतिबाट प्रदेशको नामांकन गर्नुपर्ने विकल्प समेत प्रस्तुत गरेका छन् ।

छलफलमा सहभागी अधिकांश नेताले प्रदेशको नाम ‘किरात’ राख्दा सबैको भावना समेट्ने बताए । त्यस्तै ‘मोरङ–किरात’, ‘कोचिला’ तथा ‘कोचिला–किरात’ नाम राख्नुपर्ने सुझाव समेत दिइएको छ । केही नेताले ‘कञ्चन–सगरमाथा’को नाम समेत प्रस्ताव गरेका छन् ।

किरात, लिम्बुवान, कोचिला, मोरङ्ग जस्ता नाम कुनै जात विशेषको नभई भूगोल, इतिहास, पहिचान र सभ्यतासँग जोडिएको नाम भएको उनीहरुले दाबी गरे । प्रदेश सरकारले प्रदेशको नामाकरण छलफल र सहमतिका आधारमा टुंग्याउनुपर्नेमा उनीहरुको जोड थियो । यदि किरात, लिम्बुवान, कोचिला, मोरङ्ग मध्ये जुन नाम राखे पनि सहमति हुन्छ भने आपत्ति नहुने तर अरु जाति र समुदायलाई संवैधानिक व्यवस्था बमोजिम विशेष, संरक्षित क्षेत्र निर्धारण गरेर अधिकार दिनुपर्नेमा उनीहरुको जोड थियो ।

छलफलमा संविधानसभा सदस्य मोहन टुडू, आदिवासी नेताहरु सन्तोषकुमार गणेश, मोहन राजवंशी, नरेशमान धिमाल, ज्ञानु धिमाल, पुकाराचन्द्र सिंह राजवंशी, अभय राजवंशीले प्रदेश १ को नामाकरणको सन्दर्भमा विभिन्न विकल्पसहित सुझाव प्रस्तुत गरेका थिए । उनीहरुले गहन छलफल, वार्ता र सहमतिको आधारमा अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

त्यस्तै भरतकुमार श्रेष्ठ, धर्मराज माझी, पाण्डवलाल चौधरी, नारायण राजवंशी, नौताली राजवंशी, द्रौपदी गणेश, लखीकुमार गणेश, शर्मिला राजवंशी, श्रीजलाल चौधरी लगायतले समेत सबैको भावना समेटेर प्रदेशको नाम राख्नुपर्नेमा जोड दिए । संवाद समूह झापाले संयोजन गरेको छलफलमा उनीहरुले हरेकले अरुको सहअस्तित्वलाई सम्मान गर्नुपर्नेमा समेत जोड दिए ।