घृणा र जातीय द्वेष फैलाउने नेताका भाषण अस्वीकार गर्न ओबामाको आग्रह

साउन २१ — पूर्व राष्ट्रपति बराक ओबामाले आफ्ना कुनै पनि नेताको घृणा र जातीयता प्रवर्द्धन गर्ने अभिव्यक्ति अस्वीकार गर्न अमेरिकीहरूलाई आग्रह गरेका छन्।

ओबामाले कसैको नाम लिएनन्, तर राष्ट्रपति ट्रम्पले आफ्नो आप्रवासी विरोधी भाषणले हिंसा चर्काएको भनेर भइरहेको आलोचना पन्छ्याउने प्रयत्न गरिरहेका बेला उनले पछिल्लो अभिव्यक्ति दिएका हुन्।

पछिल्लो बन्दुक आक्रमणहरूपछि राष्ट्रपति ट्रम्पले घृणा र गोराजातिको सर्वोच्चता चाहनेहरूको निन्दा गरेका थिए।

उनले आमहत्यामा संलग्नहरूलाई मृत्युदण्ड दिइनुपर्ने र बन्दुक नियन्त्रण सम्बन्धी कानूनहरूबारे दलीय सहकार्य हुनुपर्नेमा पनि जोड दिएका छन्।

सप्ताहन्तमा टेक्सस र ओहायोमा भएका दुई सामूहिक हत्यामा ३१ जनाको मारिएपछि ओबामा बोल्दै थिए।

बीबीसीका अनुसार ओबामाले भने हामी सबैले सहनशीलता र विविधताको मूल्यमान्यता अङ्गाल्दै दैनिक व्यवहार गर्नुपर्छ। त्यो नै हाम्रो प्रजातन्त्रको विशेषता हो।

ओबामाको धारणासँग एल पासो घर भएका डेमोक्र्या्टिक पार्टीका राष्ट्रपति पदका आकाङ्क्षीले पनि सहमति जनाएका छन्।

राष्ट्रपति पदमा बहाल रहँदा ओबामाले बन्दुकको स्वामित्व नियन्त्रण गर्न गरेको प्रयास विफल भएको थियो।

सन् २०१५ मा उनले दिएको एक अन्तर्वार्तामा बन्दुकबाट जोगिनसक्ने साधारण खालका कानुन समेत पालना गर्न विफल हुनु आफ्नो कार्यकालको सबैभन्दा ठूलो निराशा भएको उल्लेख गरेका थिए।

पछिल्ला दुई गोलीकाण्डपछि पनि राष्ट्रपति ट्रम्पले बन्दुक नियन्त्रण गर्ने कुनै योजना सुनाएका छैनन्।बरु उनले मानसिक रोगका कारण अमेरिकामा बन्दुकसँग जोडिएका हिंसाहरू भइरहेको बताए।

अहिले फेरि ट्रम्पले जातीयता, असहिष्णुता र गोराजातिको सर्वोच्चता चाहनेहरूको भर्त्सना गर्न थालेका छन्।

ट्रम्पले कानुन परिवर्तन गरेर खतरनाक ठानिएका मानिसविरुद्ध कानुनी कारबाही गर्न सकिने सङ्केत समेत गरेका छन्। शनिवार अल पासो टेक्सासमा भएको गोलीकाण्डमा २२ जना मारिएका थिए भने २६ जना घाइते भएका थिए।

डालस नजिकैको शहर एलेन बस्ने संदिग्ध आक्रमणकारीले हमला अघि अनलाईनमा एउटा दस्तावेज राखेको र त्यसमा टेक्ससमा भएको हिस्प्यानिक समुदायको अतिक्रमणविरूद्ध आफ्नो कदम लक्षित रहेको उल्लेख गरेको जनाइएको छ।

त्यसपछि आइतबार सबेरै एक बन्दुकधारीले आफ्नी बहिनी र अन्य आठ जनालाई डेटन ओहायोमा गोली हानी मारि दिएका थिए। उक्त आक्रमणमा २७ अन्य घाइते भएका छन्।

प्रहरी कारबाहीमा ती हमलाकारी मारीएका छन्। तर अधिकारीहरूले उक्त आक्रमणको उद्देश्यबारे केही बताएका छैनन्। सोमवार प्रहरीले बन्दुकधारीले आफ्नै बहिनीको हत्या गर्नुको उद्देश्य खुल्न नसकेको बताएका थिए।

बिबिसी