चितवनमा खुकुरी प्रहार गरी फरार अभियुक्त पक्राउ

साउन २१, काठमाडौं — चितवनमा १ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–४ का खगेन्द्र विष्टलाई गत असार १८ गते राति ११ बजे खुकुरी प्रहार गरी फरार भएका नवलपरासीको गैंडाकोट नगरपालिका–२ का सरोज घिमिरेलाई पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनामा संलग्न ४ मध्ये १ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

४ जनाको समूहमा रहेका व्यक्तिले गत असार १८ गते राति ११ बजे खगेन्द्र विष्टको घर नजिकै हल्ला गर्दै हिँडेको उनीहरुलाई त्यसो नगर्न आग्रह गर्दा विष्टलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

विष्टलाई खुकुरी प्रहार गर्नेमा पक्राउ परेका घिमिरेबाहेक भरतपुर–११ का सुजन लामा, सोही स्थानका सूर्य लामा र माधव चौधरी रहेका छन् । उनीहरूको खोजीकार्य तीव्र पारिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।