एयर होस्टेसको भूमिकामा श्रद्धा

साउन २०,काठमाडौं –  अहमद खानको निर्देशनमा तयार हुन लागेको ‘बागी’को तेस्रो पार्ट बन्न लागेको छ । एकपटक फेरी अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूरले स्क्रिन सेयर गर्दै छन् । फिल्म ‘बागी ३’ मा श्रद्धाले एयर होस्टेसको भूमिकामा देखिने भएकी छन् । श्रद्धा अहिले एयर होस्टेसको तालिम लिइरहेकी छन् ।

श्रद्धालाई एयर होस्टेसको लुकमा देखाउनका लागि ‘बागी ३’ को निर्माण टिमले श्रद्धाको लुकमा समेत काम गर्न सुरु गरिसकेको छ । ‘बागी ३’ को सुटिङ यहि सेप्टेम्बर देखि सुरु हुने भएको छ । टाइगर पनि फरक खालको स्टन्ट सिक्नका लागि इजराइल गएर विशेष तालिम लिइरहेका छन् । फिल्ममा समावेश गरिने स्टन्टका लागि टाइगरले वेल्डिङ मेसिन, सटगन, पेस्तोल र अन्य हातहतियार चलाउन सिकिरहेका छन् ।

फिल्ममा टाइगरका साथ साथै, श्रद्धाले पनि स्टन्ट गर्ने भएकी छन् । फिल्मका एक्सन सिनहरु टाइगर आफैँले कोरियोग्राफ गरेका छन् । टाइगरले फिल्मको पहिलो र दोस्रो पार्ट भन्दा तेस्रो पार्टलाई रोमाञ्चक बनाउनका लागि यस फिल्मका एक्सन सिनहरुलाई आफैँले रिफरेन्स दिएको बताएका छन् । फिल्मको पूरै निर्माण टिमले वर्ल्ड क्लास एक्सन सिन दिनका लागि निकै मेहेनत गरिरहेको टाइगरले थपे ।

साजिद नाडियाडवालाले निर्माण गर्ने यस फिल्मको अहिले स्क्रिप्टमा काम चलिरहेको छ । सन् २०१६ मा रिलिज भएको फिल्म ‘बागी’ र २०१८ मा रिलिज भएको ‘बागी २’ को सफलतापछि निर्माण टिम अब ‘बागी ३’ को निर्माणमा जुटेका हुन् । ‘बागी’ को पहिलो पार्टमा अभिनेत्री श्रद्धा कपूर र अभिनेता टाइगर श्राफ र सुधिर बाबुले मुख्य भूमिका निर्वाह गरेका थिए भने ‘बागी २’मा भने टाइगरका साथ अभिनेत्री दिशा पटानी र मनोज बाजपेयीको मुख्य भूमिकामा थिए ।